Monday, June 19, 2017

प्रेम प्रस्ताव ( कथा )

-सुरेश ‘समान’-
प्रेम प्रस्ताव (भाग- १)
 क.
“आइ लभ यु कब्ते!”
“पख मेरो ममीलाई भन्दिन्छु।” कबिताले कालो मुख लाएर धम्की दिइ। मेरो सातोपुत्लो उढ्यो। हतार हतार “हैन हैन आइ हेट यु,आइ हेट यु… नभन्दे है” भने।
एकदिन स्कुल जाँदै गर्दा कब्तेको ममीले साफ झाटिन बाटैमा – “एत्रो फुरौलो जस्त्रो छ, खुब लभ गर्ने हँ? कती किलास पुगिस?”
मैले “क्लास फाएभ” भने बिस्तारै।
“खुब आफुलाई ‘अम्ता बचन’ भन ठान्छेस तेरिमा गुइँठे। हेड्सरलाई भनेर तलाई रेस्टिकेट गरिदिउँ कि अब देखी कब्तेलाई आइ लभ यु भन्दिनस?”
“नाइ अब देखी भन्दिन अन्टी। हेड्सरलाई नभन्दिनोस।” मैले रुन्छे स्वरमा भने।
भोली देखी कब्तेको घरको बाटो छोडेर लामो बाटो स्कुल जान थालें। कब्ते पढाइमा तिखी थि। हरेक बर्ष ‘प्यारेन्टस डे’ मा पुरस्कार थाप्थी। सबैले उस्लाई ‘फस्ट गल’ भन्थे। स्कुलमा कताबाट हो हल्ला फैलिसकेछ। मलाई ‘फस्ट गलको ब्वाइ’ भनेर जिस्काउन थाले। म रिसाइ दिन्थे। ति के चुप लाग्थे-जिस्काइरहे।
त्यस्को पाँच बर्ष न म कब्तेसँग बोलेँ न कब्ते मसँग बोली।

एकदिन टिफिनमा पाँचौ घन्टीको होम्वर्क भटाभट सार्दै थिए – मन्जितको कापीबाट।
“सरी है”
टाउको उठाएर हेरेँ। पातलो मुस्कान छोड्दै कब्ते अगाडी ठिङ्ग उभिएकीथि। मेरो नौ नाडी गलेर आयो। धामीले ढ्याङ्रो ठट्टाए भन्दा जोडले मेरो मुटु ढ्याङ्रिन थाल्यो। निधार र कन्चटतिरबाट पसिना उम्रिन थाले – चिट चिट। दिसा लाग्ला जस्तो भयो। पिसाब च्याप्यो। तै कसो कसो रोकेँ। अनेक तरङ्ग, प्रश्न, उत्तर ठेलमठेल गर्दै दिमागमा आए। त्यसतो डर त मलाई त्यो पुरानी हवेली भन्ने भुतको फिलिम हेर्दा पनि लागेको थिएन। म किन डराको तर? खै, किन किन! मेरा दुबै आँखा पेनको टुप्पोमा गएर अडिए, अडिइरहे।
“साइन्सको होमवर्क सारिरा?” उस्ले सोधी।
“अँ, होम्वर्क कापी घरमा छुटेछ, सो…” मैले बाहना बनाए। मेरा आँखाहरु पेन को निबमै थिए। मनमा यो केटी यहाँबाट गएहुन्थ्योझै लागिरहेको थियो- ऐले कसैले देख्यो भने म त बर्बाद हुन्छु। फेरी कता कता मनभित्रको पनि मनमा चै कौतुहलता थियो। उस्लाई पनि पक्कै अफ्टेरो भएको हुनुपर्छ। हातमा लाएका पित्तलका औठी घुमाउदैथी जोडजोडले। अफ्टेरो भए किन आइ त यो पाँच-पाँच बर्षपछी मसँग बोल्न एक्कासी?
“त्यै सरी भन्न आकी, सरी ल!” उस्ले भनी।
मैले पनि हिम्मत जुटाएर भने “के को सरी हो, मलाई त था पनि छैन।” तर मलाई था थियो।
“मैले गर्दा तिमीले ममीको गाली खानुपर्‍यो” उस्ले दबेको स्वरमा भनी। म चुप रहेँ-अझै था न’भा जस्तो गरेर पुलुक्क हेरेँ।
“क्लास फाएभमा के त” उस्ले फेरी भनी।
“ए अँ, मैले त बिर्सी पनि सकेको थेँ” मैले स्वाङ पारे।
“ए हो र?” उस्ले भनी। “म त तै भएर तिमी मसँग नबोलेको होला भन्ठानेको। म सँग रिसाको त छैन नि?”
“छैन, त्यो बच्चाबेलाको कुरा अब के….” मैले भने।
उ पनि डराएकीजस्ती देखिन्थी। हातको औठी छोडेर अब उ टाइ बटार्न थालेकी थि। बोलीमा पनि एक किसिमको कम्पन थियो। उ डराएकी देखेर मलाई हौसला आयो-कस्तो अचम्म! म भन्दा बढी उ डराएकोले म निडर भए क्यार!
“मेरो पनि सरी है” मैले उस्लाई हेर्दै भने।
“तिमिले चै के को सरी नि?” अचम्म मान्दै उस्ले सोधी।
“आइ हेट यु भनेकोमा” मैले भने। उ हासी। म पनि हाँसे। हामी दुबै हाँस्यौ। टिफिन सकिएको घन्टी बज्यो -टिङटिङटिङटिङटिङटिङ। उ दौडेर आफ्नो बेन्चमा गइ। मेरो आधा होमवर्क सार्नै बाँकी थियो। सरले पुरा होमवर्क नगरेकोमा मुर्गा बनाए। यो पल्ट मुर्गा बन्दा जस्तो खुशी कहिलै लागेकोथिएन।

ख.
घरको फोन बेल्का बेल्का बज्न थाल्यो – दुई रिङ् बज्थ्यो, फेरी बन्द हुन्थ्यो। दौडेर उठाउन गयो फोनले दम तोडिसकेको हुन्थियो। मैले पनि दुई रिङ्ग दिन थालेँ। रिङ् धेरै बजे तर फोन उठेन-न एता न उता। आहा! फोन को रिङ् पनि मिठो संगीत लाग्नथाल्यो। उता फोन उठिहाल्यो भने मैले के भन्ने? किन फोन गरेको सोधी भने, किन भन्नु? कुरा गर्ने कुरै नहुँदा पनि खै के सोचेर फोन डाएल गर्थें कुन्नी! एकपल्ट कब्तेको आमाले एक रिङ्मै उठाइन र पड्किन -”को हो हँ? काम पाएन अर्थोक? मर्ननसकेका असती।” मैले हत्तपत्त फोन राखेँ। कब्तेका साथीहरु मिलेर ‘ब्लफ कल’ गर्थे कैलेकैले। ‘तिमी त क्या ह्यान्सी’ भन्दै मलाई फुरुङग पार्थे। म पनि ‘तिम्रै लागि हो’ भनेर जिस्किदिन्थे -बालै भो!
नयाँ बर्ष मुखैमा थियो। सबैले सबैलाई शुभकामना आदानप्रदान गर्नथाले – ह्यापी न्यु यर २०५७! मेरो लागि यो आउन लागेको नयाँ बर्ष अली बिशेष भयो। कबिताको पोस्कार्ड पाएँ- पहिलोपल्ट। पोस्कार्डमा ह्रितिक रोशन बाइसेप फुलाएर हाँसीराथ्यो। पछाडि लेखिएकोथियो –
“Be always happy, not sad
Be always good, not bad”
Happy New Year 2057.
From: Kabita Mainali
To: Ravi Devkota
मैलेपनी उत्तर उत्तर प्रगतीको कामना गर्छु भनेर शुभकामना सन्देश पठाएँ। आफुलाई मन पर्ने हिरोइन करिसमा कपुरको पोस्ट्कार्डमा। उस्को कार्ड पाको बेलुका रामबिलास हजामकोमा गएर ‘रितिक कट’ भने। रामबिलासले बुझ्यो र आफ्नो कला मेरो टाउकोमा उतार्यो। राती घर फर्केर ‘एक पलका जिना, फिर तो हे जाना’ कहो ना प्यार हे फिलिमको गीतमा ढोका थुनेर गोडा फट्टाउँदै नाचेँ – ऐना हेर्दै। पछी ‘ह्रितिक काण्ड’ हुँदा स्कुलको क्यान्टिनमा साथीहरु मिलेर पोस्कार्ड धुजाधुजा पारे र अगेनोमा हुर्याइदिए। केटाहरुको अगाडि ठीक्क पार्दै ‘अँ हो, नेपाललाई हेला गर्ने। जलाओ केटा हो यस्लाई’ भनेर खोक्रो राष्ट्रभक्ती देखाएँ। अरुअरुले पनि धेरै फोटाहरु जलाए। कतीले जुत्तामा टाँसेर हिंडे। तर साच्चै भन्नु पर्दा उता ह्रितिकको फोटो धुजाधुजा हुँदैथियो, एता मेरो मन। उता ह्रितिक अगेनोमा जल्दैथियो, एता म जल्दैथेँ भित्र भित्र। कब्तेले पोस्कार्ड पछाडि लेखेको सम्झे ‘Be always happy, not sad…’ र मात्र अल्ली शान्त भयो मन!

“जा न जा, कस्ती डर्पोक्नी! जा के जा कब्ते, दे गएर”
कबिताका साथीहरुले उस्लाई भनेको सुने। म केटाहरु लुडो खेलेको हेर्दैथे क्लास कै एक कुनामा बसेर। मेरो आँखा लुडोमा भएनी कान केटीहरुको गफमा थियो। केटीहरुमध्दे पनि कब्तेले के बोल्ली भन्नेमा थियो। कब्तेले सरी भनेको मैले गोपाल (गोफ्ले) लाई ‘कस्सैलाई नभन है’ भनेर भनेको थिएँ। मोरोले ‘ल यार’ भनेर सब्बै कुरा सुन्यो र पछी बिनोद (कोपरा), अनुप (तोरी), जितेन (हगुवा) अनी मन्जित (चट्याङ) हुँदै क्लासभरी फैलाएछ। अब त खुल्लमखुला ‘रभी इज फर कबी’ भन्दै जिस्काउन थाले। म रिसाइदिन्थे, जस्तो गर्थे। गोफ्ले र तोरीले जिस्काउन सुरु गर्थे अनी बाँकीले साथदिन्थे। एकदिन चट्याङले उक्सायो -”ज्यामिती बक्स भित्र लभलेटर हालेर दे फुरौलो! म सँग लभलेटर प्याड नि छ टाइटेनिकको हिरोहिरोनी वाला, चाहिन्छ?”
“उत जा!” म झर्केँ। लेटर लेखिन, के लेख्ने? ममीलाई देखाइदी भने फेरी?

निकैबेर उस्का साथीहरु (रितु, श्रध्दा, माल्स्मा, प्रतिज्ञा)ले करकर गरपछी कब्ते म भएतिर लम्की। मेरो छाती ढक्क फुल्यो। तोरीले ‘ओइ फुरौलो, कब्ते आइ’ मलाई कोट्याउदै भन्यो। मैले नसुनेझै गरेँ। तर मैले उस्को प्रतेक पाइला पाइला सुनीरा’थेँ।
“रबी”
मैले पुलुक्क हेरेँ। केटाहरु उठेर ‘ल हाम्रो त्यो काम छ’ भनेर नभाको काम बनाएर मस्किदै क्लासबाहिर निस्के। म एक्लो भए त्या अब।
“एस” भने कब्तेलाई पुलुक्क हेर्दै। केटीहरुको जथ्थाको मसिनो खितीती प्रस्ट सुनिन्थ्यो। कब्तेको हातमा एउटा डाइरीजस्तो खै के थियो।
“इ यो,” दिउँ कि नदीउँ जस्तो गरी उस्ले एउटा डाइरी मेरो तर्फ बडाइ।

ग.
“के हो यो?” मैले सोधेँ
“अटोबुक… भर्दिन्छौ कि भनेर… ” उस्ले अनकनाउँदौ भनी। मैले टाउको हल्लाएर हुन्छको इसारा गरेँ।
“फोटो नि हाल है प्लिज” उस्ले भनी।
“ओ. के.” भनेर ब्यागभित्र हालेँ।
“जान्छु ल?” उस्ले सोधी। मैले केही भन्न नपाउँदै घन्टी बज्यो -टिफिन सकिएको। घन्टी नबजेको भए शायद “एक छिन बस न” भन्थेँ होला तर घन्टी बज्यो अनी उ दौडेर आफ्नो बेन्चमा पुगी। साइन्स टिचर कोठामा छिरे। टिचरले ‘माइटोसिस’, ‘मियोसिस’, ‘सेल डिभीजन’ के के जाती पढाउदैथे- फिट्टो बुझेको हैन, ब्लाक्बोर्डमा ध्यान भा पो बुझ्नु! एनिमल अनी प्लान्टको सेल भित्र ‘क्रोमोजोम’ होस् कि ‘क्रोलोफिल’- जे सुकै होस् मलाई छु मत्लब? मलाई त त्यो कब्तेको अटो भित्र के छ त्यो पढ्नुथियो। कब्तेको अटोमा कुन फोटो राख्ने होला त्यो खोज्नुथियो। उस्लाई के मनपर्छ त्यो बुझ्नुथियो! बाँकी जम्मै गौण।
घर पुग्नासाथ ब्याग खोतलेर अटो निकाले। बास्ना आउने वाला अटो रै’छ। बाहिर कभरमा मिकीमाउस, डोनाल्डक, अनी बार्बापापा का स्टिकर थिए। भित्र पल्टाएर हेरेँ – कब्ते हासीँराथी। कब्तेलाई मैले प्राय सधैं त्यै स्कुलको ड्रेसमामात्र त देख्थेँ नि – कालो जुत्ता, घुँडासम्म निलो मोजा, निलो फ्रक, सेतो सर्ट, रातो टाइ अनी सेतो रिबन कपालमा। तर यो फोटोमा कब्ते रातो कुर्थासुरुवालमा सेतो सल लाएर घरको भर्र्याङ्मा टुसुक्क बसेकीथी। छोटो कपाल भए नि हेरबिन लाएकीथी टाउकोमा। आँखा कम्जोर भएकोले चस्मा त उ जहिले लाँउथी। उस्लाई ‘चार आँखी’ ‘चस्मिस’ भनेर जिस्काउँथे साथीहरु। मलाई नि जिस्काउन मन त थियो नै तर हुनुपर्‍यो नि आँट! उस्को अर्को पनि फोटो थियो त्यो अटोमा। त्यो दोस्रो फोटोको छेउमा लेखिएको थियो- ‘दीस इज मी इन क्लास फाएभ!’ “King loves golden ship, queen loves silver ship, But I love friendship” भनेर लेखेकीरै’छ टुप्पोमा। अली मुन्तिर लेखेकीथी -’Auto is मोटो, Don’t forget फोटो’।
मन पर्ने फिलिम – डि डि एल जे। मन पर्ने हिरो – ह्रितिक रोशन। मन पर्ने हिरोइन – काजोल। गित – सेन्टिमेन्टल।
हब्बी – सिङगीङ, डान्सिङ…..। अरुले पनि भरेका रै’छन कब्तेको अटो। रितु, श्रध्दा, माल्स्मा, प्रतिज्ञा, मन्जित, अनुप, बिजय, प्रसुन, राज, जितेनहरु जम्मैले आ-आफ्नो फोटो राखेकारे’छन। मैले पनि आफ्नो सिङ्गल फोटो टासिदिए कब्तेको अटोमा। ‘Thank you for giving me this opportunity to jot down my words in your golden autograph….’ भनेर धन्यवाद दिएँ। आफुलाई मनपर्ने हिरो, हिरोनी आदी लेखिदिए। अटोको अन्तिमतिर ह्रितिकको सानो फोटो नि टासिदिए-बाइसेप फुलाएर हाँसेको। ह्रितिकको फोटोको छेउमा ‘कर्सिभ हेन्डराइटिङ’ मा लेखेँ – ‘I have a pen that is blue, I have a friend that is you.’ साइन्स पनि कब्तेको अटो जत्तिकै रोचक – हेरिरहुँ, पढिरहुँ लाग्ने भा’को भे मलाई कसैले जित्छु भनेर नोसोचे नि हुन्थियो होला!
कोही ठुला मान्छे मरे भने एक मिनेट मौनधारण गरेर स्कुल छुट्टी हुन्थ्यो। चक्काजाम, हड्ताल, नेपालबन्द त कती हुन्थ्यो कती। जाडोको, गर्मीको, चाडपर्वको बिदा त छदैँ थियो त्यसमाथी। अझ त्यतीले नपुगेर कैले शनिबार आउला जस्तो लाग्थियो। तर कब्तेले ‘सरी है’ भनेको दिन देखी मलाई कोही नमरे नि हुन्थ्यो जस्तो लाग्न थाल्यो। शनिबार नै नआए नि हुन्थियो, कुनै दिन पनि बिदा नपरे हुन्थियो जस्तो लाग्न थालेको थियो। झन यो नेपालबन्द, हड्ताल, चक्काजाम गर्नेहरुसँग त रिसले चुर हुन्थे।
क्लासमा एउटा दुधभात थियो-राकेश। राकेश केटाहरु, केटीहरु दुबैको माझ ‘पपुलर’ थियो। पिक्निक, पार्क, स्विमिङ, आदी घुम्न जाने प्लान उसैले बनाउथ्यो। केटीहरु पनि अरु केटाहरुभन्दा उसँग चै खुलस्त जिस्किन्थे, मस्किन्थे। उ क्लास मनिटर पनिथियो। केटीहरुको कुरा एता आएर केटाहरुलाई सुनाउथ्यो। कुन केटीले कस्लाई मनपराउछे उस्लाई सब था थियो। केटाहरुको कुरा पनि भन्थियो होला केटीहरुलाई तर हाम्लाई चै ‘म केही भन्दिन’ भनेर ठीक्क पार्थ्यो। चट्याङको लभलेटर उसैले लगेर अर्को सेक्सनकी संगीतेलाई दे’को त हो नि! बिचरा चट्याङको लेटर त हेड्सरको अफिसमा पुगेछ। रामधुलाई भेट्यो केटोले!
“ओइ फुरौलो, तेरो त्यो चस्मिसलाई सेक्सन बि को कुल्दिपसँग कुरा गरिरा देखेँको थेँ, होस गर है” एकदिन राकेसले सुनायो। “दुबैजना खुब हाँसीहाँसी कुरा गर्दैथे।”
“मलाई बाल!” म झर्किएँ। “जस्ले जो सुकै सँग कुरा गरोस”
“कुल्दिपेले उडाइदेला है साले” राकेशले भन्यो। “कब्तेले हातमा लाएकी फ्रेन्डसिप ब्यान्ड कुल्दिपेले नै दे’को रे!”
“उडाए उडाओस” मैले मुटुमाथी ढुङ्गा राखेर भने। मनमा अनेक तरङग उठे। राकेसको कुरा सुनेदेखी कब्तेलाई धेरैजसो सेक्सन बि मा देख्न थालेँ टिफिनमा। एकपल्ट हाम्रो सेक्सन र सेक्सन बि अन्ताक्क्षरी खेल्ने भयौँ। ‘त’ बाट कुल्दिपेले -तु चिज बडी हे मस्त मस्त, तु चिज बडी हे मस्त- कब्तेलाई हेर्दै गा’यो। कब्तेले नि कुल्दिपेलाई हेर्दै ‘ह’ बाट – हम्को सिर्फ तुम्से प्यार हे, हम्को सिर्फ तुम्से प्यार हे- गाइदी। मलाई उकुसमुकुस भयो। रिस उठ्यो – कुल्दिपेसँग अनी कब्तेसँग त झनै रिस उठ्यो। भित्रभित्र मुर्मुरिएँ, बाहिर जस्तो देखिएपनी। अन्ताक्क्षरीमा हाम्रो सेक्सनले जित्यो तर मैले हारेँ-कब्तेलाई। मसी सकिएको पेन जस्तो सुख्खा भए म। कागजको हावाइजहाज जस्तो उड्नै नपाई क्रास भयो मेरो सपना। हिसाब नमिलेर अड्केजस्तो… बिचमै अड्के म। किताब भित्र राखेको गुलाबको फुलको पात जस्तै मेरो ओठमुख सुके। कतै कब्तेले गा’को गीत साच्चै कुल्दिपेको लागि त हैन? म झस्किन्छु। त्यो रात कोल्टे फेर्दै बित्यो।
भोली भयो।
“ओ चट्याङ तँ सँग त्यो टाइटेनिकको फोटोवाला लेटर लेख्ने छ?” मैले मन्जितलाई सुटुक्क सोधेँ।
“ल ल के हो फुरौलो, कस्लाई हो?” उस्ले छिल्लिदै सोध्यो।
“छ कि छैन भन न, मेरो एक जना साथीले मागीराथ्यो क्या सो…” मैले कुरो दबाउन खोज्दै भने। तर मोरोले के पत्याउथ्यो! चट्याङले फेरी हेड्सरको झापड खाने डरले हो क्यार ‘छैन’ भन्यो। झापड खानु परे नि खाँउला-मैले निर्णय गरेँ। चट्याङले मलाई लेटर प्याड किन्ने ठाउँको नाम बतायो – श्री स्टेसनरी। मैले लेटर लेख्ने सोच त बनाएँ तर त्यो लेटरप्याड किन्ने पैसा थिएन। माया लाउन पैसा नि चाहिनेरै’छ, बल्ल बुझ्दैथेँ। जे पर्ला पर्ला भनेर खुत्रुके फुटाएँ त चिल्लरहरु भेलापारेँ। पचास रुपैयाँ रै’छ। दौडेर पुगे श्री स्टेसनरी र चट्याङले भनेजस्तै खाल्को लभलेटर प्याड लेर आएँ। राती घरमा जम्मै सुतीसकेपछी ब्यागबाट लेटरप्याड निकालेँ। एफ एम खुल्लै थियो अनी हिन्दी फिलिमको मिठो गीत बज्दैथियो – ‘प्यार कि कागज पे, दिल कि कलम से… पेहेली बार सलाम लिखा… मेने खत मेहेबुव कि नाम लिखा…..’
घ.
____ कबिता,
म रबी देबकोटा, तिम्रो क्लासको रबी। कबिताको अगाडि प्रिय, प्यारी, मेरी… के भनेर संबोधन गर्ने था नभएर ‘____ कबिता’ लेखेको हुँ। त्यो खाली ठाउँ भर्ने जिम्मा तिम्रै भो! यो लेटर तिम्रो मम्मी, हेड्सर अनी तिम्रो मिल्ने साथीहरु-कस्सैलाई पनि नदेखाउ है, please! बरु पढिसकेपछी मनपरेन भने च्यातेर हुर्याइदिए नि हुन्छ। मैले यस्तो ‘लभ लेटर’ पैला कहिलै लेखेकोछैन, यो नै पहिलो हो। नेपाली सब्जेक्टमा ‘छात्रव्रितीको लागि निवेदन’, ‘बुवा-आमालाई चिठ्ठी’ जस्ता ५ मार्क्सको चिठ्ठी मात्र लेखेकोछु। एकपल्ट मन्जितले संगितेलाई लेखेको ‘लभ लेटर’ पढेको थिएँ, त्यती हो। फेरी मलाई एस्तो खाल्को माया पहिला कसैसित पनि लागेको थिएन, तिमी नै पहिलो हो – सत्ते। यादै होला क्लास फाएभ – त्यो बेला त माया के हो नि था थिएन। तै पनि माया गर्दोरै’छु तिमीलाई उ बेला। तिमीसँग बोल्न कत्ती कोशीस गरेँ तर अँह हिम्मत जुटाउनै सकिन। तिम्रो उधुम डरलाग्थ्यो। फेरी तिम्रो मम्मीले रेस्टिकेट गराइदिन्छु नि भन्नुभाथ्यो। तै भएर चुप बसेँ। शायद तिमीले ख्याल गरेकीछैनौ होला तर म तिमीलाई अरुको आँखा छलीछली हेरीरा’हुन्छु। मलाई तिमी एकदम मनपर्छ्यौ। तिमी त्यसरी पाँच-पाँच बर्षपछी म सँग बोल्न आउँदा मलाई विश्वास नै भएन सुरुमा त। त्यो दिन आजसम्मको मेरो सब्बै भन्दा खुशीको दिन होला। नयाँबर्षको पोस्कार्ड पाउँदा पनि मेरो खुशीले भुइँमा खुट्टा थिएन। साथीहरुले नि खुब जिस्काउछन तिम्रो नाँउ लिएर। शायद तिमीलाई पनि जिस्काउँदा हुन। म तिमीलाई साच्चैको मन पराउँछु। त्यै भएर I Love You भन्नको लागि यो लेटर लेखेको हुँ। मबाट तिमीले कहिल्यै धोका पाउनेछैनौ कबिता! म भित्र सिर्फ मायै माया छ तिम्रोलागी। यदी तिमीलाई पनि म मनपर्छु भने भोली बेलुका छ बजे मेरो घरको फोनमा दुई रिङ् मिसकल देउ है, म बुझ्ने छु। फोन बजेन भने पनि बुझ्नेछु। अहिलेलाई यो कलम बन्द गर्दैछु! Bye.
तिमीलाई माया गर्ने,
रबी देबकोटा (क्लास टेन, सेक्सन A)
रोल नं. ३८

प्रेम प्रस्ताव (भाग- २)

 अहिले सम्म हामीले रबीका कुरा सुन्यौ – अब पालो कब्तेको कुरा सुन्ने! कब्तेको मनमा चै के छ त? सुनौ उसैको मुखबाट)

क.
कब्ते – मलाई डर लायो अनी म दौडेर घर पुगेँ। ममीले के भो भनेर सोध्नुभयो। मैले ‘त्यो रबिले मलाई आइ लभ यु भन्यो’ भने – काँप्दै। भोलीपल्ट ममिले रबिलाई कराइदिनु भयो। म भित्रबाट सुनिरा’थे। मनमनै ‘खुच्चिङ’ भने। रबिको अनुहार हेर्न लायकको थियो त्यो बेला। ममीले “नडरा त्यस केटाले मज्नुगिरी उत्रिनेगरी मुखभरी गाली खाइसक्यो” भन्नुभयो भित्र आएर। मलाई ढुक्क भयो। हाम्रो घरको बाटो तर्केर स्कुल जान थालेछ अनी त।

क्लास फोर देखी क्लास टेनसम्म म नै फस्ट भएँ। ममीले क्लास एटमा छोरी फस्ट भा’को उपलक्ष्यमा रातो कुर्तासुरुवाल, सेतो सल किनिदिनु भयो। मैले त्यस्मा फोटो नि खिचे। क्लास सिक्समा मेरो आँखा कम्जोर भएकोले चस्मा लाउन थालेँ – चस्मा लाउने ठुलो रहर पुरा भयो।
“के हो कब्ते फस्ट हुने तँ, खुशी हुने अरु” प्यारएन्टस डे पछी रितुले जिस्क्याइ।
“के रे? को खुशी भयो?” मैले सोधेँ
“को रे? था नभा जस्तो गर्छे चस्मिस”
“साच्चै भन न” मैले ढिपी गरेँ।
“रबी हौ, तेरो फुरौलो” उस्ले मस्किदै भनी। “तेरो नाम स्टेजमा बोलाउना साथ रबी खुब स्वीइइ… सिठ्ठी बजाउँछ, खुब ताली पड्काउँछ, एभ्री यर!”
मैले नपत्याउँदै ओठ लोप्र्याएँ। उस्ले फेरी भनी -”नपत्याए प्रतिज्ञालाई सोध”
“हो ब्यारे, हो” प्रतिज्ञाले रितुको सपोर्ट गरी। मैले पुलुक्क टाउको उठाएर अल्ली पर बसीरा’को रबीतिर हेरेँ। उस्ले हत्तनपत्त टाउको अर्कैतिर बटार्यो।
अक्टोबरमा रबीको बड्डे रे’छ। क्लास टिचरले ‘ल आज रबीको जन्मदिनको उपलक्ष्यमा उस्ले चक्लेट बाँड्दैछ जम्मैलाई’ भनेर सुनाउनुभयो। रबी चक्लेट बाड्नथाल्यो डेस्क-डेस्कमा गएर। अरु जम्मैलाई दुईदुइ ओटा राख्दै हिड्यो-मेरो डेस्कमा चारओटा ‘वाइट र्याबिट’ चक्लेट छोडेर गयो। केटीहरुलाई के चाहियो-साउती मार्न थालीहाले, कुरै छैन! मैले त देखेको छैन तर उस्को डेस्कमा रबिले ‘R + K’ लेखेको छ रे – श्रध्दाले सुनाकी। त्यस्तै एकपल्ट क्लास टेन पिकनिक जाने प्लान मनिटर राकेशले बनायो। जम्मैजनाले ५०-५० रुपैयाँ उठाएर दक्षिणकाली जाने कुरो भयो। घरमा सुनाएँ। ममिले-”सर मिस पनि जान्छन कि तिमीहरुमात्र?” सोध्नुभयो। सरमिस पनी जान्छन भनेपछी बल्लतल्ल ३० रुपैयाँ दिनुभयो। मैले राकेशलाई पुरा पैसा छैन भने। उस्ले ‘केही छैन, बाँकी पछी देउ” भन्यो। तर मैले पछी था पाएँ बाँकीको २० रुपैयाँ रबिले ‘कब्तेलाई नभन है’ भनेर रितुको हातमा देकोरे’छ। नजानिदो पाराले, अरुको आँखा छल्दै रबिले मलाई हेरेको मैले ख्याल गर्न थालेँ। म पनि अब त उस्ले मलाई हेरिरा छ कि भनेर खुसुक्क हेर्न थालेँ छिनछिनमा। निकै बेर सम्म पनि हेरेन भने कस्तो कस्तो नरमाइलो पो लाग्न थाल्यो-किन नहेरेको होला? उस्को ‘हेर्ने रोग’ अब मलाई पो सर्यो! उ कुनै दिन स्कुल आएन भने पनि खल्लो लाग्न थाल्यो – तरकारीमा नुन नपुगेझैँ। शुक्रबार हाफछुट्टी नि नभए हुन्थ्यो जस्तो लाग्थ्यो।
एकपल्ट केटीपार्टीहरुको मिटिङ भयो – प्रतिज्ञाको घरमा। प्रतिज्ञाको घरमा सत्तेनारनको पूजा ला’को थियो र जम्मै केटीहरुलाई बोलाकीथी प्रशाद खान। रबी पनि आ’को छ कि भनेर एताउता हेरेँ तर क्लासको केटाहरुमा राकेशलाई मात्र देखेँ। खैर जे होस्, हामी केटीहरु प्रतिज्ञाको कोठामा पस्यौँ। त्याँ धेरै त केटाहरुकै कुरा भए। कुरैकुरामा रबीको र मेरो कुरा निस्कियो। मलाई जम्मैले टिक्नखान दिएनन। जम्मैले एकमुख लाएर भन्नथाले – “तँ र रबी किन नबोलेका?” “तलाई त्यो फुरौलो मनपर्छ?”, “तलाई त खुब हेर्छ बाइ तेस्ले”, “मन नपर्ने भा तलाई चै किन ४-४ ओटा चक्लेट?” आदीआदी। रितुले मलाई त्यो पिक्निकको २० रुपैयाको कुरा पनि त्यही सुनाइ। मैले त्यो क्लास फाएभको कुरा बताएँ। त्यो कुरा सुने पछी जम्मै केटीहरु घोप्टो परेर लडीलडी हाँस्न पो थाले। बल्ल था भो किन केटाहरुले रबिलाई ‘फुरौलो’ भनेको भन्दै निकैबेर हासे। म पनि तालमा ताल मिलाउदै हाँसिदिए। केटीहरुले त्यो मिटिङबाट मेरो लागि एउटा फैसला सुनाए – ‘भोली टिफिनमा कब्तेले रबिलाई सरी भन्नुपर्छ’। यो फैसला सर्वसम्मतीले पारीत भो। जम्मैले ‘हो हो सरी भन्नै पर्छ’ भनेर कोकोहोलो मच्चाए। अब भो त! ‘ल ल’ भन्नैपर्‍यो।
रातभर मेरो दिमागमा अनेक द्रिस्यहरु घुमे। कुनै द्रिस्यमा म अली नरम भएर ‘रबी सरी ल प्लिज’ भन्दैहुन्थे, कुनै द्रिस्यमा अली रुखो ‘केटिहरुको करले मात्र भन्दैछु -सरी’ भनेर ठम्ठम निस्कन्थे। फिलिम सुटिङ गर्दाको जस्तो एक्सन-कट धेरै चल्यो मस्तिस्कमा। भोलीपल्ट रबी क्लासमै थियो टिफिनमा। भट्टाभट सार्दैथियो होम्वर्क। ‘जा जा’ भन्दै घचेट्न थाले केटीहरुले। बिस्तारै पाइला अघी बढाएँ। लाग्छ मेरो जुत्तामा बिस बिस किलोको फलामको ढक फिट गरिएकोछ – कस्तो भारी भा’को पाइला। उ घोप्टेर लेखिराथ्यो। मैले बिस्तारै ‘सरी ल’ भने। उस्ले पुलुक्क हेर्यो र फेरी घोप्टियो। उस्ले पनि सरी भन्यो ‘आइ हेट यु’ भनेकोमा रे! म हाँसे। उ नि हाँस्यो। हामी दुबै हाँस्यौँ। बिचराले होम्वर्क सक्न पाएन। फेरी मुर्गा बन्यो त्यो दिन नि!
रितुले रबिको घरको फोन नम्बर दि ‘ब्लफ कल’ हान्न कहिलेकाही भनेर। मैले लुकी लुकी मिस कल दिनथालेँ। मेरोमा पनि दुइ रिङ् आउन थाल्यो। फोन न एता उठ्यो, न उता। तर फेरी एक्कासी खै किन हो फोन आउनै छोड्यो। मैले सोचेँ-अब अटो बनाउनुपर्‍यो अनी रबिलाई पनि भर्न दिन्छु। मैले धेरै फोन गरेर रिसायो कि न! पैला केटीहरुलाई भर्न दिएँ अनी केटाहरुले पनि भरीसके पछी रबीलाई दिएँ। उस्ले मेरो अटो ब्यागभित्र हालेर ओ. के. मात्र भन्यो। उस्लाई ढिला भर्न दिएँ भनेर न रिसायो कि-मलाई नरमाइलो लाग्यो! न मैले गर्दा मुर्गा भन्नु पर्‍यो भनेर रिसायो? आँफै देखी रिस उठ्यो। किन जान्ने भएर होम्वर्क गरिराको मान्छेलाई डिस्टर्ब गर्न गा’की होला? किन मिस कलका मिस कल दिएर हैरान होला? किन उसैलाई चैँ लास्ट्मा अटो भर्न दे’की? सुरुमै किन नदेकी होला? किन? किन? जती सोच्यो त्यती रिस उठ्ने।
एकदिन टिफिनमा क्लासको एक कुनामा बसेर पढिरा’थे। नेपाली सरले भोली लक्ष्मी प्रशाद देबकोटाको ‘के नेपाल सानो छ?’ भन्ने पढेर आओ भन्नुभाथ्यो। त्यै पढ्दैथे। केटाहरुको ग्याङ क्लासको अर्को कुनामा थिए। सेक्सन बि को कुल्दिप देसाइ मेरो ड्याडीको मिल्ने साथीको छोरा हो। उ इन्डियाबाट आ’को थियो, नेपाली खासै राम्रो थिएन। उस्को ड्याडिले ‘कबिता बेटी, मेरो बेटालाई पनि नेपाली सिकाइदेउ है’ भन्नुभाथ्यो। कहिलेकाहीँ सिकाइदिन्थे! तर आज आफ्नै पढ्नुपर्ने भा’कोले म क्लासमै थिएँ। केटाहरुले शायद नोटिस गरेनन। उनिहरु एउटा कागज तानातान गर्दै पढ्दैथे। राकेशको स्वर सुने। उ कागज हेर्दै चिच्याउँदैथियो – “वा क्या सायरी लेख्या छ रे यस्ले यो लेटरमा”। बिजय भन्दैथियो “यो लगेर दिस भने त सिओर पट्टिन्छे। जा लगेर दे सेक्सन बि मा।” जितेन भन्दैथियो -”तैले आँफै लेखिस यस्तो? वा लेटर प्याड नि खतरा रे’छ यार।” रबिले भन्यो -”हे मुलाहरु के र्याग गरिरा, उ मन्जितलाई दे त्यो लेटर।” मन्जित रिसाँउदै क्लास बाहिर निस्कियो। जम्मै गलल हाँसे। मलाई लाग्यो पक्कै पनि कसैको लभलेटरको कुरा हुँदैछ त्याँ। फेरी एक्कासी चिसो पस्यो मुटुमा – ‘कतै रबिले त सेक्सन बि को कसैलाई लेखेको हैन?’ पछी हेड्सरले केटाहरुलाई अफिसमा बोलाए भनेको सुन्दा त झनै डरलाग्यो। के भयो होला हेड्सरको अफिसमा? सेक्सन बि सँगको अन्ताक्षरीमा पनि रबी निकै खुशी देखिथ्यो। खुब मच्ची-मच्ची गीत भट्याइरा’थ्यो। हाम्रो सेक्सनले जित्दा पनि उ खुशी देखिएन। के उस्लाई हाम्रो सेक्सनले नजितोस भन्ने थियो? त्यतिकैमा अनाहक मेरो मनबाट एउटा आवाज आयो – रबिलाई आफ्नो कुरा खुलस्त भनेर लेटर लेख! मैले संकल्प गरेँ – आजै लेख्छु, भरै नै लेख्छु अनी भोली नै दिन्छु!
ख.
डियर रबी,
यो केटी त कस्ती रै’छ भन्लाउ तर हेरन मन थाम्नै सकिन त्यै भएर यो लेटर लेख्दैछु -तिमिलाई। एउटै गाँउ, एउटै स्कुल अनी एउटै क्लासमा पढ्छौ हामी त्यै पनि अपरिचित जस्तो छौँ है – तिमीलाई लाग्दैन त्यस्तो? मैले कत्ती कोशीस गरेँ तिमीसँग बोल्न, अझै गर्छु तर खै किन किन सक्दैसक्दिन भन्या। त्यै भएर यो लेटर मार्फत आफ्ना मनका कुरा तिमीसँग खोल्दै छु, माइन्ड गर्दैनौ होला! अब त स्कुल पनि सक्किन लाग्यो। मेरो ड्याडिलेले मलाई IT पढ्न बेङ्लोर पठाउने कुरा गर्दैहुनुन्छ तर मलाई साच्चै भन्नुपर्दा जानै मन छैन। तिमी जाँ पढ्छौ, जे पढ्छौ, त्यँही, त्यै पढ्न मन छ। एस. एल. सि. को भन्दा पनि बढी मलाई त स्कुल छोड्नुपर्ने डर छ। अनी त्यो भन्दा पनि बढी तिमीबाट टाढा हुनुपर्ने दिन आउला भन्ने डर छ।
तिमीले नयाँबर्षमा पठाको पोस्कार्ड मैले जतनसाथ राखेकोछु, कहिलेकाहीँ सुटुक्क हेर्छु। आसा छ तिमीलाई पनि मैले पठाको मनपर्‍यो होला। क्लासका केटीहरुले मलाई खुब जिस्क्याउछन तिम्रो नाम लिएर। रितुले तिम्रो घरको नम्बरदे’की थि। मैले थुप्रै मिस कल गरेँ भनेर रिसाका त छैनौ नि? रिसाका छौ भने सरी ल। मैले गर्दा तिम्रो होम्वर्कपनी सकिएन, त्यसको लागि पनि सरी। मेरो कारणले तिमीले ऐलेसम्म खाली कि त गाली खानुपर्‍यो कि कस्ट सहनुपर्‍यो। तर साच्चै म माया देखाउन खोज्छु, भइदिन्छ उल्टो। के गर्नु माया लाउने फर्मुला नहुँदोरै’छ। हुने भा भे म त घोकेर कन्ठ पार्नेथे।
तिमी हाँसेको मलाई एकदम मनपर्छ। तिमी बोलेको सुनीरहुँजस्तो लाग्छ। आँट भैदेको’भे -’तिमी हाँसेर बोली राख, म सुनी राख्छु नि ल’ भन्ने थिएँ। अस्ती नै एकपल्ट धरानजाँदा बुढासुब्बा मन्दिरको बाँसमा तिम्रो नाम लेखेकीथेँ। भन्छन आफुलाई मनपर्नेको नाम लेख्यो भने छिट्टै मिल्छ! त्यस्तो भनाइको पछाडि कत्तीको सत्यता छ त्यो भविस्यले बताउला नै! तिमीले पनि मलाई माया गर्छौ भन्ने गाइँगुइँ सुनेको छु। तर फेरी सोच्छु – माया गर्ने भाको भए, तिमी त केटा मान्छे, भनीहाल्थ्यौ नि! साथीहरुले त्यतिकै उडाका हुन जस्तो लाग्छ। फेरी हामी बोल्दा पनी बोल्दैनौ। मलाई पो तिमीसँग बोल्दै नबोली माया बस्यो – तिमीलाई पनि मलाई जस्तै हुनुपर्छ भन्ने के ग्यारेन्टी छ र? अरुले भनेको भरमा माया हुन्छ र? जस्ले भन्नुपर्ने हो उसैले पो भन्नुपर्‍यो नि हैन र? फेरी कोइ नपाएर म जस्ती चस्मिसलाई के हेर्थ्यौहोला र जस्तोलाग्छ। मनका कुरा कसरी भनु, के गरी पोखुँ भएर साह्रै छट्पटी भयो। अनी आज यो कलमको साहाराले मुटुका कुरा यो कागजमा उतार्दैछु। हो म तिमीलाई मनपराउँछु, माया गर्छु! मैले दिनसक्ने भनेकै त्यती हो। यदी तिमीलाई स्विकार्यछ भने प्लिज यो लेटरको जवाफ पठाउ है! र यदी छैन भने पनि मलाई ‘नादान कब्ते’ ठानेर माफ गरिदेउ। अहिलेलाई यतीमै टुङ्याउदैछु।
उही,
कबिता मैनाली
रोल नं. १

ग.
१० बर्ष पछी…
“हेलो!” रबीले फोन उठायो।
“हेलो मित्र! मलाई चिन्यो?”
“को हो? मैले त चिनिन नि! कस्लाई खोज्नु भा’को?”
“रबी हैन यो? आइ मिन ‘फुरौलो’… हा हा हा” उताबाट बोल्नेले भन्यो। रबी झसँग भयो। ‘फुरौलो’ त उस्लाई उस्का स्कुलका दिनको साथीहरुले मात्र भन्थे।
“फुरौलो रे? को हो भन्या? कस्तो सस्पेन्स राखेको। भनन” रबिले भन्यो।
“म हौ म, मन्जित… साले बिर्सिस साथीहरुलाई?”
“ओ माइ गड” ठुलो स्वरमा रबिले चिच्यायो। “साले चट्याङ तँ? काँ बाट? कसरी? काँ छस? नेपालमै छस? भेट्न आ’म? कुन ठाउँमा आम?” बरर एकै सासमा रबिले भनीसक्यो। उस्का आँखा चम्किला भए। अझै के के भन्न खोज्दैथियो मन्जितले बिचैमा रोक्यो र भयो -”पख पख धेर हतार नगर। म दुई दिन भो आ’को US बाट। याँ आउनु अघी देखी नै मैले सबलाई कन्ट्याक्ट गरेकोथेँ। तेरो त घरको फोन पनि चेन्ज भएछ अनी ठाउँ पनि सेरेर कपनमा बस्छौ रे हैन?”
“हो, अनी कसरी पत्तालाइस त?” रबिले भन्यो।
“साले तलाई त म पानी मुनी भा’भे नि खोजेर निकाल्थे। खैर! तैले लेखेको एउटा आर्टिकल अस्ती पत्रीकामा देखेँ। अनी त्यो पत्रीकामा फोन गरेरे बल्लबल्ल तेरो नम्बर पाएँ। कस्तो दुर्लभ प्राणी भाको यार तँ त!” मन्जितले भन्यो।
“ए अनी को-कस्लाई फोन गरिस त अरु?” रबिले सोध्यो।
“अब पर्सी saturday हाम्रो ‘गेट टुगेदर’ छ याँ बेकरी क्याफेमा। त्याँ आइज अनी सबलाई भेटहुन्छ।”
“ए ल ल यार! म त एकदमै एक्साइटेड छु भेट्न।” रबिले भन्यो।
फोन राख्नेबेलामा मन्जितले भन्यो – ‘ए सुन् त फुरौलो, तलाईँ एउटा सर्प्राइज छ। make that two.. तलाईँ दुईटा सप्राइज छ। पर्सी नै था पाउलास!” रबी के भन्न खोज्दैथियो मन्जितले फोन राखिसकेको थियो।

ङ.
रातीको तीन बज्न लाग्यो तै पनि आज रबीलाई निद्रा परेको छैन। उस्लाई भोली कैले होला र गेट टुगेदरमा जाँउ जस्तो लागिरा’छ। छिन छिनमा आफ्नो मोबाइलमा समय हेर्दै बल्लबल्ल ६ बजायो। आफ्नो नित्यकर्म सकेर उस्ले मन्जितलाई फोन गर्छ – “हेलो चट्याङ, के छ यार?”
“ठिकै छ।” उताबाट मन्जितले भन्छ। “भर्खर ७:३० भएछ, किन फोन गरिस यार? म त ओछ्यानमै छु।”
“ए सरी यार! भरे कती बजे आउने हो भनेर सोध्न गरेको।”
“त्यै ५:३०-६ तिर आइज न! कती हतार हो केटोलाई!”
“एत्रो बर्षपछी भेट्दैछु, म त एकदम एक्साइटेड छु यार! ल ल तँ सुत। भरे भेटुँला।”
दुबैले फोन राख्छन। फोन राखेपछी रबी टोलाउँदै बिगतमा पुग्छ। स्कुल, टिचर, साथीहरु, क्यान्टिन, पिक्निक, क्लास अनी कब्ते उस्को मस्तिस्कमा नाच्न थाल्छन।

मोटरसाइकल पार्क गरेर रबी रेस्टुराँमा छिर्नमात्र लागेको हुन्छ-पछाडीबाट कसैले उस्लाई गम्लङ्ग आङालो हालेर बुइ चड्छ। “ओ फुरौलो, तँ आइ पुगिस!” पछाडी मन्जित हुन्छ।
“ओ हो! चट्याङ! हेर्त यो कस्तो ज्याङ्गो भएछ!” रबि हर्सित हुँदै ठुलो स्वरमा भन्छ।
“अनी के त साले! जैले तँ जस्तो फुरौलो हुने त? हा हा हा!”
“के छ यार, कत्ती पछी देख्दैछु! मलाई त विश्वाश गर्नै गाह्रो भै’राछ!” रबिले अङालो मार्दै भन्छ!
“I am very good मित्र! ल भित्र हिँड ५-७ जना आइसके, अरु आँउदैछन।”
“ल हिंड”
भित्र पस्नासाथ एउटै स्वरमा जम्मैले हुटिङ गर्छन् – “फुरौलो, फुरौलो, फुरौलो।” त्याँ राकेश हुन्छ। बिनोद हुन्छ। प्रसुन हुन्छ। बिजय हुन्छ। राज हुन्छ। माल्स्मा। प्रतिज्ञा। श्रध्दा। जम्मैजना पालैसँग उठेर अङालो मार्छन। जम्मै भावुक। जम्मै खुशी। कस्तो रमाइलो! राकेशले बियर मगाँउछ। बियर र म:म: खाँदै जम्मैले आ-आफ्नो कुरो बताउन थाल्छन। राकेशलाई लागिसकेजस्तो देखिन्थ्यो। उस्को बोली लर्बराउन थालीसकेका थिए। राकेश सिङगापुरको बैँकमा काम गर्दैछ रे। बिनोद फिजिक्समा पिएचडी गर्दैछ रे-जापानमा। प्रसुन टेक्ससमा IT मा मास्टर्स गर्दैछ रे। मन्जित US मा बायोमेडिसिन पढ्दैछ रे। बिजय पनि US मा एमबिए गर्दै छ रे। माल्स्माले पब्लिक हेल्थमा काम गर्छिन रे US मा। प्रतिज्ञा र श्रध्दा सँगै तिलगंगामा नर्स छन रे। राजले त बिहे नि गरीसकेर पोखरामा रेस्टुराँ खोलेर बसेकोछ रे। रबिले पनि आफु नेपाली टिचर भएर पढाउन थालेको बताउँछ। एकछिन पछी रितु आइपुग्छे। उस्को पछीपछी जितेन र गोपाल पनि आइपुग्छन। रितुको पनि बिहे भइसकेको रहेछ। उ ऐले ‘सान्ती मन्त्रालय’ मा काम गर्छे रे।
“अनी अमेरिकामा त साह्रै बिजी हुन्छन रे मान्छे-कसरी तिमीहरु जम्मैको एक्कैपल्ट मिल्यो नेपाल आउन?” प्रतिज्ञाले एक्मुस्ट सोधिन।
“यो सब मिलाको यो चट्याङले हो।” राकेशले लर्बराउँदै भन्यो। “एक बर्ष अघी देखी किचकिच गरेर बल्लबल्ल बिदा मिलाएर आको नि हामी।”
जम्मै जना हातहातमा बियर वाइन लिएर २-३ जनाको ग्रुप ग्रुपमा उभिएर कुरा गर्न थाले। मन्जित, राकेश र रबीको एउटा ग्रुप बन्यो।
“अनी के सर्पाइज भन्थिस नि चट्याङ? खै त के हो?” रबिले मन्जितको पिठ्युमा ढ्याप्पा हान्दै सोध्छ।
“ए म भन्दिउँ?” राकेश बिचमा बोल्छ।
“साले एस्लाई लागि सक्यो” मन्जितले राकेशलाई हेर्दै भन्छ। “ल भन भन तैँ भन।”
“यो चट्याङ को छ नि, को सँग लभ परेको छ तलाई था छ?” ठुल्ठुला आँखा पार्दै रबिलाई सोध्छ।
“को सँग?”
“गेस गर न गेस।”
“को करिना कपुर हो?” रबिले हाँस्दै भन्छ।
“हैन साले संगीतासँग, संगीते, क्लास टेन बि”
रबीका आँखापनी ठुला हुन्छन। “त्यो लभलेटर हेड्सरलाई देखाइदिने वाली संगिता?” उस्ले अच्चम्म मान्दै सोध्छ।
मन्जितले टाउको हल्लाउदै ‘एस’ भन्छ-मन्द मुस्कानका साथ। रबिको आँखामा प्रश्नवाचक चिन्ह देखेर मन्जितले भन्छ -”अमेरिकामा एउटै युनिभर्सिटीमा पुगेछौँ, खै कसरी कसरी? अनी त त्यही पर्‍यो यार। उस्को चै थेसिस बाँकी छ, सो आउन मिलेन।”
“ल बधाई छ यार। झापड पनि खाइस, पापड पनि खाइस उसो भे संगीताको लागि। हा हा हा!” रबिले भन्यो। तिनैजना गललल हासें।
“तँ जस्तो फुल देखी डराउने भवराँ हो र म फुरौलो?” मन्जितले रबिलाई जिस्क्याउँछ।
“भन भन! अनी अर्को सर्प्राइज चै?” रबिले सोध्छ। फेरी राकेश बिचमा बोल्छ -”एउटा कुरा भन्छु है केटाहरु आज सुटुक्क।”
“के हो भन न, तँ त मनिटर पेरिस-तेरो कुरा सुन्नै पर्‍यो नि” मन्जितले भन्छ।
मातेको स्वरमा राकेशले भन्छ -”हेर रबी त्यो कब्तेलाई मैले पनि मन चै पराको हुँ यार। हुन त म सब केटीहरुसँग जिस्कन्थे तै भएर कब्तेले मलाई ‘लाइटली’ लि बुझीस केटा हो। साह्रै मन पर्थी- डन्ट माइन्ड है रबी ।” रबी र मन्जित एकछिन जिल्ल परे। एकछिन पछी रबिले फेरी सोध्यो – “के हो अर्को सर्प्राइज, भन न चट्याङ।”
“उ त्याँ हेर” मन्जितले ढोकातिर देखाउँदै भन्छ।
“कब्ते!” हठात रबिको मुखबाट फुत्किन्छ। जम्मैजना रबितिर हेर्दै हाँस्छन। कब्तेको पक्कै पनि मनपर्ने रङ रातो हुनु पर्छ। आज पनि उ त्यो अटोको फोटोमा जस्तै रातो कुर्थासुरुवालमा थि। रबी उस्लाई एकनास हेरेकोहेरै हुन्छ – कस्ती राम्री! कस्ती उज्याली! कबितालाई सबैले न्यानो स्वागत गर्छन्। केटीहरुको आँखा रसाउँछन। पालैपालो जम्मैसँग भेट्दैहुन्छे उ। रबी फेरी बिगतमा पुग्छ!
“हेलो रबी”
“हाइ कबिता”
“तिमी त उस्तै पो देख्छु नि रबी?”
“म बद्लेको छैन” रबिले मन्द मुस्कान छोड्दै भन्छ। “तिमी चैँ चेन्ज भएछौ, खै चस्मा?”
“ए, आज्कल कन्ट्याक् लाँउछु” उस्ले भनी। “ए बाइ द वे… उ चै मेरो ‘फ्योन्से’” उसँगै उभिएको मान्छेलाई परिचय गराउँदै भनी।
“हाइ म रबिन्द्र। तिमी चैँ रबी होला हैन? कबिताले सुनाइरा’हुन्छिन ‘मेरो स्कुलको साथीको नाम पनि रबी हो’ भनेर। खुशी लाग्यो भेटेर।”
रबीले हात मिलाउँदै “हाइ नाइस टु मिट यु” भन्छ। रबिन्द्र चाडै घुलमिल हुनेखाल्को मान्छे रै’छ। जम्मैजनासँग आँफै परिचय गर्दै हिड्दैथ्यो। मन्जित मातिसकेको राकेशलाई सम्हाल्दै एउटा कुनामा बसाउन लिएर जान्छ। रबी र कबिता मात्र बाँकी हुन्छन अब त्यो ग्रुपमा। एकछिन दुबै मौन बस्छन। सायद दुबैलाई अफ्टेरो लागेको हुनुपर्छ।
“अक्वर्ड त भा’को छैन नि तिमीलाई” रबिले मौनता भङ्गगर्दै सोध्छ।
“अली अली” कबिताले वाइनको गिलासभित्र हेर्दै बिस्तारै भन्छे। “तिमिलाई?”
“मलाई नि अली अली।” रबिले उस्लाई हेर्दै भन्छ। “अनी काँ थियौ? काँ छौ त आजकल?”
“म बेङ्लोरमा थिएँ। पढाई सकेर काम गर्नथालेँ। अनी अब कामबाट क्यानाडा ट्रान्स्फर हुँदैछ। हामी दुबैजना एउटै कम्पनीमा छौँ। अर्‍को महिनाको फ्लाइट छ।” कबिताले भनी। “अनी तिमी चैँ?”
“मेरो पनि पढाई सकियो। ऐले सानोतिनो टिचर छु। नेपाली पढाउँछु। एउटा लोकल पत्रीकाको स्तम्भकार पनि छु। राम्रै चलीरा’छ।” रबिले आफ्ना कुरा सुनायो।
“को को काँ काँ पुगियो है साथीहरु?” कबिताले रबिलाई हेर्दै भनी।
रबिले भन्यो – “त्यै त! जे होस् आज जम्मैलाई भेट्न पाइयो, खुशी लागिरा’छ।”
“अँ है! मलाई नि मन्जितले फोन गरेर भन्यो।” कबिताले अली सहज हुँदैँ भनी। “तिमिलाई स्कुलको दिनहरु कत्तीको याद आउँछ त रबी?”
“आँउछ नि याद। अझ म त टिचर भा’छु – स्कुलका केटाकेटीहरुलाई हेरेर आफ्ना दिनहरु कत्ती सम्झन्छु कत्ती।”
“माइन्ड गर्दैनौ भने एउटा कुरा सोधुँ?” मासिनो मुस्कानमा कबिताले सोधी।
“के हो भनन, किन माइन्ड गर्नु?” रबिले पनि हाँस्तै जवाफ फर्काउँछ।
“क्लासमा चलेको हल्ला, हल्लै मात्र थियो कि साच्चै?” कबिताले अनकनाउदै सोध्छे।
“साच्चै नभाको भए तिमीलाई लेटर किन लेख्थे?” रबिले हाँस्तै भन्छ। “लेटरको जवाफ नदिने तिमी त हौ नि!”
“तिम्रो लेटर?” कबिता झसँग हुन्छे। “कुन लेटर? कस्तो लेटर? बरु तिमीले चैँ दिएनौ, मेरो लेटरको रिप्लाइ!”
“तिम्रो कुन लेटर?” रबी रातो हुन्छ।
“तिम्रो कुन लेटर?” कबिता निली हुन्छे। “तिमिले कैले लेख्यौ?”
“त्यो तिमीले अटो भर्न देको बेलातिर लेखेकोथिएँ। राकेसले ‘दिएँ’ भन्थ्यो त!” रबी अधैर्य हुँदै सोध्छ।
“ओ एम जि” कबिता आफ्ना गालामा दुबै हात राख्दै चकित हुन्छे। उस्को हातको माइली औंलामा सुनको औठी टल्कन्छ। “मैले पनि उसैलाई दे’को थिएँ ‘दिएँ’ भन्थ्यो।”
रबी र कबिता दुवै मौन भए। सायद ‘अक्वर्ड’ यसैलाई भन्छन। दुवैले एकअर्कालाई हेरीरहे-निकैबेर। दुवैलाई मनमा लाग्यो – “यदी त्यो चिठ्ठी उस्ले पा’को भए?”
रबिलाई राकेशसँग खुब रिस उठ्यो। कबिताका आँखामा पनि क्रोध स्पस्ट देखिन्थ्यो तर अब रिसाएर हुनेवाला केही थिएन। आफ्ना मनमा एकअर्काप्रती गुम्सिएका तरङ्गहरु खुलस्त रुपमा फुकाउन नसक्नु मुलत: रबी र कबिताको नै गल्ती थियो। हिमाल आरोहण गर्छु भन्नेले पैलो पाइला त फेदीमा नै हाल्नुपर्छ। अब अफ्सोच गरेर बितेका पललाई सपार्न मिल्दैन – जिन्दगी न ‘रिवाइन्ड’ हुँदोरै’छ न ‘फास्ट’। यो त आफ्नै तालमा ‘प्ले’ हुने कुरो हो।
‘भावीको लेखा’ लाई दोश दिनु सिवाय उपाए नै के थियो र अब। समय उनिहरु भन्दा धेरै अगाडि गै’सकेको थियो बस अब त बिगतको मिठो स्‍मृतिहरु बाँकी भए। रबी र कबिताको चिनो अब क्लास टेनको डेस्कमा R+K मै सिमित हुनेछ। कबिताले बुढासुब्बाको बाँसमा ‘रबी’ लेखेकीथी। उस्ले आफ्नो ‘रबी’ पाइसकीथि।
निकै अबेर भै’सकेको थियो। जम्मैजनाले एकअर्काको फोन, इमेल साटासाट गरे र फेरी भेट्ने बाचाका साथ बिदा भए। राकेश मातेर झल्लु भाथ्यो। ट्याक्सीमा चढाएर मन्जितले आफ्नो घर लग्यो। जानेबेलामा रबिन्द्रले रबिलाई -”It was nice to meet you” भन्यो र बिदा माग्यो। कबिता अघीनै गाडीमा चढि सकेकीरै’छ – रबि सँग कुरा भएन।

च.
भोलीपल्ट रबी पढाउन स्कुल गयो।
जम्मै विद्यार्थीले लयबद्द “गूड् मर्निङ सरssss” भन्दै उठे उ क्लास छिर्नासाथ।
“गूड् मर्निङ, सिट डाउन” भन्यो रबिले। “ल आज हामी लेखनाथ पौड्यालको कबिता पढ्दै छौँ।”
क्लास सकिएपछी उ बाहिर निस्कियो। उस्को पछाडि ३-४ जना केटीहरु ‘रबी सर, रबी सर’ भन्दै आए। रबीले “के भो?” सोध्यो।
“सर यो बिस्नेले सब्तेलाई दे’को,” ति मध्ये एउटी केटीले उ तिर कागज तेर्स्याउँदै भनी।
“के हो यो?” रबिले सोध्यो।
“सर त्यो बिस्नेले के के लेखेको छ यो कागजमा मलाई। कम्ले लाई दिन ला’को रै’छ तेस्ले” अर्कीले बोली।
“हो सर, मलाई ‘यो लगेर सब्तेलाई दे’ भन्यो तेस्ले”
“ल ठीक छ, म हेर्छु। बिष्नुलाई टिफिनमा मलाई भेट भन्द्याओ।” रबिले कागज गोजीमा हाल्दै भन्यो।

“सरले मलाई बोलाउनु भा’को हो?” बिष्नु लुरुक्क पर्दै ढोकामा उभिन्छ।
“हो, के यो तैले लेखेका हौ?” रबिले सोध्छ। बिस्नु चुपचाप, राता कान पारेर भुइँतिर हेर्छ, बोल्दैन।
“कस्ले सिकायो एस्तो लेख्न? भर्खर सातमा पुग्यौ, यस्तो लेख्नेबेला भइसक्यो?” बिष्नु चुप्चाप!
“खै एता आइज” रबिले बोलाउँछ। बिस्तारै डराइ-डराइ बिष्नु अगाडि बड्छ।
“मैले तिमीलाई पिट्न बोलाको हैन।“ बिस्नुको हातमा कागज थमाउदैँ रबिले भन्छ। “ला यो पक्डी – एस्मा धेरै ह्रस्व-दिर्ग मिलेका छैनन। यो सच्याएर क्लास टेनमा पुगेपछी दिनु, बुझीस?”
बिष्नुको अनुहार एकाएक खुल्छ। उस्ले ‘हुन्छ’ को टाउको हल्लाउँछ अनी कागज गोजीमा हालेर निस्कन्छ।
“ए सुन त” रबिले अली पर पुगिसकेको बिष्नुलाई बोलाउँछ। बिष्नु पछाडि फर्कन्छ…..
“आफैँ लगेर दिने, अरुको हातमा पठाउने हैन…”
समाप्त।
(यो कथा काल्पनिक हो! तर कसैको वास्तविक जीवनमा मेल खान गए, जाओस.........

साभार :- माइसंसार.कमबाट





No comments:

Post a Comment